नियम ५८
महानगरीय वा दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार
: प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष रेखदेख, नियन्त्रण तथा निर्देशनमा रहने गरी दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,
(ग) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(घ) प्रहरी कर्मचारी तथा कार्यालयको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(च) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रभावकारी ढङ्गबाट खटिन सक्ने गरी अतिरिक्त बलको रूपमा दङ्गा नियन्त्रण प्रहरीलाई तयारी हालत राख्न समय सापेक्ष प्रशिक्षणको व्यवस्था गर्ने र आधुनिक साधनयुक्त बनाई तयारी हालतमा राख्ने,
(छ) हुलदङ्गा, साम्प्रदायिक दङ्गालगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,
(ज) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,
(झ) गण र मातहत गुल्म तथा जनशक्ति, योजना तथा कार्य, प्रशिक्षण विषयमाm आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने,
(ञ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्नु गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने÷गराउने ।